Prakash Adhikari December 5, 2022

काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरुको बैठकले चुनावी समीक्षा गर्दै निर्वाचनको जनादेश अनुसार थप एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।

‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ बैठकपछि जारी सामूहिक प्रेस विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ।

शीर्ष नेताहरूले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबाद समेत दिनुभएको छ। नेताहरुले निर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ।

शीर्ष नेताहरुले निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको र तिनलाई आगामी दिनमा थप समीक्षा गरिने बताउनुभएको छ।

मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। नेताहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ।

‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ विज्ञप्तिमा भनिएको छ।

नेताहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा नेपाल सरकार,निर्वाचन आयोग,सुरक्षा निकाय,निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी र निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई धन्यवाद पनि दिनुभएको छ ।

विज्ञप्ति हेर्नुहोस्ः

Share Now

Leave a comment.