Prakash Adhikari December 10, 2022

काठमाडौं, २४ मंसिर । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी भई दुवै वा कुनै एकमा समानुपातिकको थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरुलाई समानुपातिक तर्फका सदस्य चयन गर्न चटारो परेको छ ।

कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् ।
जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १ सय ४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ र सात प्रदेशमा ६४ सीट पाएको छ । जस अनुसार प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना नेपाली कांग्रेसबाट सांसद बन्न पाउने छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या

४३ सांसद चयन गर्न पाउने माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ जना चयन गर्नुपर्ने छ भने प्रदेशमा २९ जना । माओवादीले प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद चयन गर्ने छ ।

प्रतिनिधिसभामा ७ सीट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिमा पनि ७ सीट पाएको छ भने प्रदेश सभामा १७ । राप्रपाले प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।

जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

 

Share Now

Leave a comment.