दोहा(कतार), २५ मंसिर । इंग्ल्याण्डलाई १- २ गोलले पराजित गर्दै फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड साविक विजेता फ्रान्ससँग १- २ गोलले पराजित हुँदै कतारमा जारी विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
शनिवार मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो ।
त्यस अगाडि पनि अब बायत रंगशालमा इंग्ल्याण्डले पाएको पेनाल्टीमा केनले नै गोल गरेका थिए ।
हिजोको क्वार्टर खेलको १७ औं मिनेटमा औरेलियन चुवामेनीले एन्नी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो ।
England vs. France, as called by Jim Ross: pic.twitter.com/OQN2ZfF3bc
— Timothy Burke (@bubbaprog) December 10, 2022
खेलको ५४ औं मिनेटमा इंग्ल्याण्डका कप्तान केनले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्याए ।
इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले गोल पोष्टको जाली चुम्न सकेन । कप्तानले बाटो बिराएपछि इंग्ल्याण्डको विश्वकप यात्रा टुंगियो र फ्रान्स लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो ।
विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्स अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।


















