Prakash Adhikari December 18, 2022

दोहा(कतार), ३ पौष । आज  फुटबलको विश्वकप फाइनल खेल हुँदैछ । उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्।
खेल राति पौने ९ बजे दोहाको लुसेल स्टेडियममा हुनेछ।

यसअघि फ्रान्स र अर्जेन्टिनाले समान २ पटक उपाधि जितेका छन्। मोरक्कोलाई सेमिफाइनलमा २–० ले हराउँदै फ्रान्स लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।

अर्जेन्टिनालाई क्रोएसियालाई ३–० ले हराउँदै ८ वर्षपछि फाइनलमा पुगेको हो।

शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले पराजित गरी तेस्रो स्थान पक्का गरेको छ।

१९९८ मा पहिलोपटक ब्राजिललाई हराउँदै उपाधि जितेको फ्रान्सले गएको २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसियालाई हराउँदै दोस्रोपटक उपाधि जितेको थियो।

अर्जेन्टिनाले १९७८ मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई हराउँदै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन।

१९९० र २०१४ मा अर्जेन्टिना जर्मनीसँग फाइनलमा हारेको थियो।

पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो।

योसँगै अर्जेन्टिना छैटौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो।

फ्रान्स भने यसअघि फाइनलमा एकपटक मात्रै हारेको छ। २००६ मा उसले इटलीसँग हारेको थियो। यो उसको चौथो फाइनल हो।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रोपटक भेट भएका हुन्। पहिलोपटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराएको थियो।

गएको विश्वकपमा यी दुई टोलीबीच अन्तिम १६ मा भेट भएको थियो। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो।

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक । एक खेलमा हारेका छन्। समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग हारेको थियो। समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग हारेको थियो।

अन्तिम १६ मा फ्रान्सले पोल्यान्डलाई र अर्जेन्टिनाले अस्ट्रेलियालाई हराएका थिए।

क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई हराएको थियो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ।

सेमिफाइनलमा भने दुवै टोलीले एउटै समूहबाट आएका राष्ट्रलाई हराएका हुन्।

समूह एफमा रहेका मोरक्को र क्रोएसियाले समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए।

जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदारसमेत छन्। अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन्।

मेस्सी र एम्बाप्पे व्यावसायिक फुटबल भने एउटै क्लब पीएसजीबाट खेल्ने गरेका छन्।

Share Now

Leave a comment.