Prakash Adhikari December 24, 2022

काठमाडौं, ९ पौष । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ।

कांग्रेसले शुक्रबारदेखि पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको हो।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएका नवनिर्वाचितसांसद वीरबहादुर बलायरले ‘नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेर पार्टीलाई बुझाइसकिएको बताउनुभयो ।

उहाले भन्नुभयो, कुनै दलले बहुमत नल्याएको अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने सबैको चाहना छ।’

शनिवार दिउँसो बालुवाटार पुगेका नपाली कांग्रेसका महिला सांसदहरुले पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्न पाउनुपर्ने सुझाव दिएका छन्।

निर्वाचनमा जनतालाई कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भनेर आश्वासन दिएर पार्टी र गठबन्धनले चुनाव जितेको उल्लेख गर्दै नवनिर्वाचित सांसद रमा कोइरालाले बताउनुभयो, ‘निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बन्यो । कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो सुझाव रह्यो । ’

‘तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ, त्यही अनुसार गठबन्धनका नेताहरुलाई कुरा गर्नुहोला भनेर हामीले सभापतिलाई भनेका छौं’, कोइरालाले भन्नुभयो ।

प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सदस्यहरु निर्वाचित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि समय दिनुभएको छ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न भनेको छ।

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहेको छ ।

 

Share Now

Leave a comment.