Prakash Adhikari December 25, 2022

काठमाडौं, १० पौष । नयाँ सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले बिहान १० बजेसम्ममा गठबन्धनको बैठक बस्ने जानकारी दिनुभएको छ।

शनिबार साँझ बालुवाटारमै बसेको गठबन्धनको बैठकमा सरकारको नेतृत्व २ -२ -१बर्ष(कांग्रेस २ बर्ष माओवादी २ वर्ष र समाजवादी १ बर्ष)  गर्ने गरी सहमति भएको र राष्ट्रपति,उपराष्ट्रपति,सभामुख र उपसभामुख लगायतका पदमा आज भागवण्डा मिलाएर राष्ट्रपतिसमक्ष दावी पेश गर्ने समझदारी भएको थियो ।

शनिबार साँझ बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचन परिणाम अर्थात जनताको जनादेशको पनि विश्लेषण गरेको थियो । मंसिर ४ गतेको निर्वाचन परिणाम कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनोस् भन्ने रहेकोले सोही अनुरुप सहमति गर्ने कुरामा लगभग सहमति भएको थियो ।

शनिबारको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी भएका थिए।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज साँझ ५ बजे सकिँदै छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न ३ पौषमा आह्वान गर्नुभएको थियो।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा पदमा नियुक्ति गर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार साँझ ५ बजे भित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको हो।

Share Now

Leave a comment.