काठमाडौं, २ फागुन । संयुक्त यातायात मजदूरहरुको आह्वानमा आज गरिएको उपत्यका यातायात बन्द कार्यक्रमले उपत्यकामा सार्वजनिक यातायात ठप्प भएको छ ।
ट्राफिक जरिवाना कम गर्नुपर्ने, बसपार्क बाहिर माइक्रो पार्किङ गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीहरुले आज उपत्यकामा सवारी बन्दको आह्वान गरेका थिए ।
सोमबार दिनभर नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गरेका मजदुरहरूले मंगलबार उपत्यकामा यातायात बन्द गराउने निर्णय गरेका थिए।
अहिले उपत्यकामा सार्वजनिक यातायात चलेको छैन। फाटफुट निजी सवारी भने सञ्चालन भएको छ।
आन्दोलनरत यातायात मजदूरहरुले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आज बन्दको आह्वान गरेका हुन् ।
मन्त्रालयमा वार्ताको तयारी
आन्दोलनरत यातायात व्यवसायी र मजदुरसँग सरकारले आज वार्ता गर्दै छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात व्यवसायी र मजदुर प्रतिनिधिहरूलाई मंगलबार बिहान ८ः३० बजे वार्ताका लागि मन्त्रालयमा बोलाउनुभएको छ ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको मन्त्री श्रेष्ठले बताउनुभएको छ
।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेकोसमेत उहाँले जानकारी दिनुभयो।
कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित यातायात मजदुरहरुले आन्दोलन गरेका हुन्।
आन्दोलका कारण सोमबार दिनभर काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको थियो।
आन्दोलनकारीले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका थिए भने नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए।