Prakash Adhikari February 14, 2023

उमाकान्त खनाल / झापा

काठमाडौं, २ फागुन (बीबीसी)। नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापास्थित एक अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले सुरु गरेको महाभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहले साथ दिनुभएकोे छ।

सोमवार झापाको काँकडभिट्टामा आयोजित उक्त कार्यक्रमको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गर्नुभयो। वर्तमान अवस्थामा देशभरि देखिएका विकृतिविरुद्ध महाभियान सञ्चालन गरिएको प्रसाईँको दाबी छ।

“राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔँ” नाम दिइएको अभियानको आरम्भ वर्तमान राज्यव्यवस्थाको विरोधीजस्तो देखिएको थियो।

अभियानलाई देशव्यापी रूपमा लैजाने बताइएको भए पनि त्यसको स्पष्ट प्रारूप कस्तो हुने भन्ने चाहिँ खुलाइएको छैन।

पूर्वराजा ज्ञानेन्द्रसँग कोको थिए?

प्रसाईँ संयोजक रहेको ‘महाभियान’को उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सहभागी हुनुहुन्थ्यो।

तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी उपस्थित हुनुहुन्थेन।

प्रसाईँले केही दिनअघि पूर्वराजपरिवारलाई भेटेरै उहाँको संयोजकत्वमा आयोजना गरिने उक्त अभियानको आरम्भको कार्यक्रमका लागि निमन्त्रणा दिनुभएको थियो।

हाल पूर्वराजपरिवारका सदस्यहरू झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको निवासमा हुनुहुन्छ।

प्रसाईँ संयोजक रहेको कार्यक्रमको उद्घाटन गरेर पूर्वराजपरिवारका सदस्यहरू कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो।

प्रसाईँले मन्तव्य दिँदा पूर्वराजपरिवारका सदस्यहरू त्यहाँ हुनुहुन्थेन।

पूर्वराजा

अस्पताल सञ्चालक दुर्गा प्रसाईँ एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ। यसअघि उहाँ माओवादी पार्टीसँग आबद्ध हुनुहुन्थ्यो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँले ‘हजुरबा’ भन्नुहुन्छ।

तर आफ्नो भनाइ राख्ने क्रममा प्रसाईँले “यस्तो गणतन्त्र किन चाहियोरु” भन्नुभएको थियो।

“धर्म मास्ने, युवा वर्गलाई खाडी मुलुकका तातो घाममा पठाउने गणतन्त्र हामीलाई चाहिँदैन।”

पूर्वराजा ज्ञानेन्द्र शाह भने कार्यक्रममा बोल्नुभएन।

शाह कार्यक्रमस्थलमा आउँदा राजतन्त्रको पक्षमा नारा लगाइएको थियो।

प्रसाईँको कार्यक्रम पूर्वराजा शाहले उद्घाटन गरिरहँदा एमाले अध्यक्ष ओली पनि झापामै हुनुहुन्थ्यो।

ओलीले सोमवार बिहान मात्र गौरादह नगरपालिकाको एउटा नवनिर्मित पुल उद्घाटन गर्नुभयो तर आफ्नै पार्टीका केन्द्रीय सदस्यको कार्यक्रममा जानुभएन।

Share Now

Leave a comment.