Prakash Adhikari February 14, 2023

 

काठमाडौँ, २ फागुन । यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।

आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र यातायात मजदुरहरुबीच भएको वार्ताबाट यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँच बुँदे सम्झौता भएको छ ।

सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो ।

मङ्गलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँचबुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ ।

त्यस्तै, यातायात मजदुर सङ्गठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको छ ।

सरकारले ट्राफिक जरिवाना बढाएको, नयाँ बसपार्क क्षेत्रबाहिर सवारी साधन राख्न निरुत्साहित गरेको, ल्होत्से कम्पनीको मनोमानी रहेको नयाँ बसपार्कभित्रबाट सबै सार्वजनिक सवारी साधन चलाउनु पर्ने बाध्यता सिर्जना गर्न खोजेका भन्दै सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर तथा व्यवसायीहरुले आगजनी र तोडफोड गर्दै विरोध गरेका थिए ।

तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरेपछि उनीहरूलाई वार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौँ उपत्यकामा बिहानदेखि सार्वजनिक सवारी चल्न सकेका थिएनन् । तर, वार्तापछि भने यातायात चल्न सुरु भएको छ ।

Share Now

Leave a comment.