
कीर्तिपुर(काठमाडौं), २ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तरगत मंगलबार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न नेपाल र नामिबियाबीचको खेलमा घरेलु टिमले दुई विकेटको ऐतिहासिक जित निकाल्दा मैदान आठ कीर्तिमान कायम भएका छन्।
२ सय ८६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४७.४ ओभरमा १४ बल बाकी रहदा ८ विकेट गुमाउँदै २ सय ८७ रन हासिल गरेर लक्ष्य पूरा गरेको थियो । जुन नेपालले ओडिआईमा पूरा गरेको उच्च योगफल हो । खेलमा नेपालका ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले भने कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाए ।
नेपालले आफ्नो ओडिआई इतिहासकै उच्च योगफल पूरा गर्दा टियु मैदानमा कीर्तिमानको बर्षा भएका छन् । नेपाल र नामिबिया खेलमा बनेका प्रमुख ८ कीर्तिमान यस प्रकार छन्।
१.सर्वाधिक ठूलो लक्ष्य पूरा
नेपालले ओडिआईमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा कप्तान पारस खड्काले शतक हानेका थिए ।
२.ओडिआईमा नेपालको उच्च योगफल
नेपालले उक्त विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउदै २ सय ८७ रन बनायो । जुन ओडिआईमा नेपालले बनाएको उच्च योगफल हो । यसअघि नेपालको ओडिआईमा उच्च योगफल २ सय ८६ रन थियो । उक्त योगफल नेपालले गतवर्ष टियु मैदानमै पपुवा न्युगिनीविरुद्ध २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बनाएको थियो ।
३. उच्च साझेदारी
नेपाललाई जिताउन तेस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटको लागि उच्च साझेदारी थियो ।
यसअघि ओडिआईमा नेपालबाट उच्च साझेदारी गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २९ रन थियो ।
४. कुशलको कीर्तिमानी शतक
कुशल भुर्तेल ओपनिङ ब्याटिङ गर्दै ओडिआईमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ओडिआईमा यो नेपालको चौथो शतक हो । पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
गतवर्ष पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा रोहित पौडेलले पहिलो खेलमा १ ससय २६ रन र दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।
पारसले तेस्रो, दीपेन्द्रले चौथो र रोहितले पाँचौं नम्बरमा ब्याटिङ गर्दै शतक हानेका थिए । कुशलअघि ओपनरको रुपमा उच्च प्रदर्शन आसिफ शेखको नाममा थियो । आसिफले २०२१ मा ओमानविरुद्ध ९० रन जोडेका थिए ।
५.करणको कीर्तिमानी पाँच विकेट
फेब्रुअरी १४ अर्थात करण केसीको बर्थ डे । भ्यालेन्टाइन ब्वाइ करण केसीले पुन सानदार प्रदर्शन गरे । करण नेपालबाट ओडिआई क्रिकेटमा तीन पटक पाँचमाथि विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
करणले गतवर्ष ओमानविरुद्ध समान पाँच विकेट लिएका थिए । नेपालबाट ओडिआईमा करणपछि सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक पटक पाँच विकेट लिएका छन् ।
सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । सोमपाल कामीले २०१९ मा युएईविरुद्ध पाँच विकेट लिँदै यस सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
६.रोहितको कीर्तिमानी एक हजार रन
नेपाललाई सानदार जित दिलाउन कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेले । सुरुवाती ५५ रनसँगै रोहित ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।
२०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका रोहितले ३३ खेलमा ६ अर्धशतकसहित कुल १ हजार १७ रन बनाएका छन् । रोहितपछि नेपालबाट ओडिआईमा सर्वाधिक रन खेलाडी ज्ञानेन्द्र मल्ल हुन् । ज्ञानेन्द्रले २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् ।
७.नेपालविरुद्ध विपक्षी ब्याटरको उच्च प्रदर्शन
नामिबियाका माइकल भान लिड.गेनले नेपालविरुद्ध १ सय ३३ रनको इनिङ खेले । ओडिआई इतिहासमा नेपालविरुद्ध विपक्षी ब्याटरले बनाएको यो उच्च योगफल थियो । यसअघि माइकलले नै गत डिसेम्बरमा घरेलु मैदानमा १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।
माइकल अघि नेपालविरुद्ध २०२२ मा अमेरिकाका स्टिभ टेलरले १ सय १४, ओमानका जिशान मकसुदले १ सय ४ रन अविजित, अकिब इलायसले २०२० मा १ सय ९ रन अविजित, २०२१ मा जतिन्दर सिंहले १ सय ७ र मोनांक पटेलले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
८.नेपालविरुद्ध लगातार दोस्रो शतक
माइकल भान लिड.गेन नेपालविरुद्ध लगातार दोस्रो शतक हान्ने पहिलो विदेशी खेलाडी हुन् । उनले गत डिसेम्बरमा नेपालविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । उनको ओडिआई करिअरको पनि दोस्रो लगातार शतक थियो ।