दुबाई(संयुक्त अरब इमिरेट्स), २२ फागुन । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको छ ।
यो शानदार विजयसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अब चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।अबका ४ खेलहरु नेपालको घरेलु मैदान कीर्तिपुरमा हुने छन् ।
दुबाईको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिड. गरेको नेपालले युएईलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । ५० ओभरको निर्धारित खेलमा ४५ ओभरमा १ सय ८७ रनमा युएई अल आउट भयो ।
युएईका ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए । खेलमा युइएका अर्यान लक्राले ५०, भी अरबिन्दले १३, सीपी रिजवान र जहुर खानले ७ । ७, रोहन मुस्तफा र ए सरफूले ६।६, जुनेड सिद्दकीले ३ र आयान अफजल खाँनले २ रनको योगदान गरे ।
युएईलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र दीपेन्द्रसिं ऐरीले ३।३, करन के.सी.,आशिफ शेख र सन्दीप लामिछानेले १।१ विकेट लिए ।
नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो ।
खेलमा नेपालका सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो ।
भीमले युएईका तीव्र गतिका बलर जहुर खानलाई थर्डम्यानमा चौका हान्दै ७८ बलमा सिनियर टोलीको लागि पहिलो अर्धशतक प्रहार गरेका थिए । भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट बोल्ड आउट हुन पुगे । एक समय ६८।५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले अर्धशतकका साथ खेलमा पुनरागमन गराएका थिए ।
आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । प्रतिश जि।सी ६ बलमा १ चौकासहित ११ रनमा अविजित रहे । नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभेलिएन फर्केका थिए ।
ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल स्पिनर आर्यन लाक्राको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।
ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
आर्यनको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।
युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्राले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो ।
अव लिग २ को अन्तिम सिरिज नेपालमा बिहीबार देखि नेपालमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच टियुमा त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।


















