क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता ! डिएल मेथडबाट यूएईलाई ९ रनले हराउँदै नेपाल क्रिकेटको विश्वकप छनोट
काठमाडौंं, २ चैत्र । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत कीर्तिपुरमा भएको त्रिदेशीय श्रृखलाको अन्तिम तथा लिगको अन्तिम खेलमा नेपालले संयुक्त अरब एमिरेट्सलाई (यूएई) पराजित गर्दै विश्वकप छनोटमा स्थान पक्का गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर फिल्डिड.मा परेको नेपालले युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको थियो । नेपालले ४४ औं ओभरको अन्त्यमा ६ विकेटको क्षतिमा २ सय ६९ रन जोडेको थियो । क्रिजमा नेपालका अल राउण्डर दीपेन्द्र सिंह र गुलशन झाको जोडी जमिरहेको थियो । तर मैदानमा सूर्यास्तको घामको प्रतिकूल अवस्था देखियो र लाइटनिड.का कारण खेल रोकेर नतिजा दिने निर्णयमा रेफ्रीहरु पुगे । डिएल मेथडबाट खेलको निर्णय गर्दा नेपाल ९ रनले विजयी भयो ।
यो जित संग नेपाल आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को अंकतालिकाको शीर्ष तीनमा पुगेको छ । तेस्रो स्थानमा रहेको नामिबिया चौथो स्थानमा झरेको छ । यस लिग अन्तरगत अंकतालिकामा शीर्ष ३ मा रहने टोलीले सीघै क्रिकेट विश्वकप छनोट खेल खेल्न पाउने छ ।
यो नेपालका लागि ऐतिहासिक क्षण हो । नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो।
नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।
नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ।
सिरिजको पहिलो खेलमा युएईलाई हराउँदै नेपालले आगामी ४ वर्षका लागि ओडिआइ मान्यता जोगाएको थियो।
योसँगै लिग २ का सबै खेल सकिएका छन्।
नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।
आजको खेलमा नेपालका गुलसन झाले ओडिआइमा पहिलो अर्धशतक प्रहार गरे। गुलसनले ४८ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे।
नेपालको जितमा चार खेलाडीले अर्धशतक बनाए। ओपनर कुशल भुर्तेल ५० रनमा क्याच आउट भए। ३५ बलको सामना गरेका कुशल ३ चौका र ४ छक्का हान्दा क्याच आउट भए।
भीम सार्की ६७ रनमा एलबीडब्लु धरापमा परे। ७६ बलको सामना गरेका उनले ९ चौका हन्दा जुनैद सिद्दीकीको बलमा एलबीडब्धु धरापमा परेका थिए।
खेलमा पाँचौ विकेटका लागि भिम सार्की र आरिफ शेखले ८३ रनको साझेदारी गरे भने छैटौँ विकेटका लागि अरिफ शेख र गुलसन झाले ४४ रनको साझेदारी गरे।
आरिफ शेख ५२ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १६ रनमा क्याच आउट हुदै पेभेलियन फर्के।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो।
युएईका लागि छैटौं विकेटका लागि आशिफ र अरविन्दले १ सय ३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। युएईका आशिफ खान १ सय १ रनमा नटआउट रहे।
विष्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पूरा गरे। १ सय ३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।
ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे। ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाएका थिए ।
चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए। रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरीको बलमा एलबीडब्लु धरापमा परे।
युएईलाई रोक्न नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।
दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट लिएका थिए।