Prakash Adhikari March 17, 2023

काठमाडौं, ३ चैत्र। नेपाली नागरिकता लिने क्रममा प्रकृयागत त्रुटी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी अनुसन्धान सकिएको छ।

प्रहरीले अनुसन्धान सिध्याएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको स्रोतले जनाएको छ। ‘फागुन ३०मा सो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो’, स्रोतले भन्यो।

अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएको आरोप लागेपछि प्रहरीले उहाँमाथि अनुसन्धान शुरु गरेको थियो।

झूटा विवरण पेश गरी नेपाली राहदानी लिएको भन्दै उहाँविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको थियो। त्यसअघि रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका कारण सर्वोच्चमा रिट दायर भएको थियो।

रिटमा फैसला गर्दै गत माघ १३ गते अदालतले उहाँको सांसद पद खारेज गरेको थियो। त्यतिबेला उपप्रधान एवं गृहमन्त्री रहनुभएका लामिछानेले सर्वोच्चको फैसला आएसंगै राजीनामा दिनुभएको थियो।

नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत माघ १३ गते फैसला सुनाएको थियो।

त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता प्रमाणपत्र लिएपछि लामिछाने पुनः पार्टी सभापति बन्नुभएका लामिछाने फेरी चितवन क्षेत्र नं २ बाट उपनिर्वाचन लड्ने तयारीमा हुनुहुन्छ।

माघ १३ मा सर्वोच्च अदालतले फैसलाको सारांश मात्रै प्रकाशित गरेको थियो। निर्णय सुनाएको ४० दिनपछि फागुन २३ मा अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो।

३३ पृष्ठ र ३३ बुँदामा समेटिएको फैसलाले लामिछानेको राहदानी (पासपोर्ट) का विषय पनि उल्लेख गर्दै प्रहरीलाई अनुसन्धान अघि बढाउन बाटो खुलाएको थियो।

अमेरिकाको नागरिकता त्याग्न रविले दिएको निवेदन काठमाडौँ स्थित अमेरिकी दूतावासले २०७५ असार १४ स्वीकृत गरेको उहाँका कानुन व्यवसायीले सर्वोच्च अदालतमा बताउनुभएको थियो।

तर, प्रहरीले त्यसको आधिकारिक जवाफ मागेको थियो। अमेरिकी दूतवासले त्यसबारे जवाफ पठाए नपठाएको बारे प्रहरीले गोप्य राखेको छ।

 

Share Now

Leave a comment.