Prakash Adhikari March 27, 2023

काठमाडौं, १३ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिनुभयो ।

निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । “निगमसमक्ष काठमाडौँ–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ”, उहाँले भन्नुभयो, “तर निगमले हेलचेक्र्याई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।”

निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उहाँको भनाइ छ ।

निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताउनुभयो । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उहाँको भनाइ छ । सो अनुमति आउन विलम्ब भए पनि मलेशिया जाने यात्रुहरुलाई असुविधा नहोस भनेर निगमले चार्टड उडान गरेर सेवा पुर्याउन खोजेको छ । नियमित सेवाको अनुमति प्राप्त भएपछि चार्टर्ड सुविधाको उडान रोकिने निगमको भनाई छ ।

नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।

Share Now

Leave a comment.