अशोक दाहाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १४ चैत्र । सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने छलफल चलिरहँदा यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा देखिएको छ।
कमजोर राजस्व सङ्कलन, बढ्दो आन्तरिक ऋण र शेअर बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वमा धेरै मानिसहरूको चासो देखिन्छ।
कांग्रेसले पाउने भनिएको सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयमा सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेको पार्टी नेताहरू बताउँछन्।
बीबीसीको जिज्ञासामा डा. महतले पनि आफू यसका लागि तयार रहेको बताउनुभयो।
“अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ। लगानी जोखिममा छ प्रतिफल कम छ। माग र आपूर्तिमा समस्या छ। यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न जरुरी छ,” डा. महतले भन्नुभयो।
“यो अवस्थामा कांग्रेसभित्र यो विषय पढेको, परराष्ट्र र ऊर्जा मन्त्रालय पनि चलाएको हिसाबले पनि मेरो लागि यो विषय अरूभन्दा उपयुक्त हुन्छ भन्ने सोच पनि राखेको हो। ..तर सबैको सल्लाह सुझाव लिएर सभापतिजीले निर्णय गर्ने कुरा हो।”
डा. महतको पृष्ठभूमि के हो ?
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसक्नुभएको छ। तर उहाँले अर्थ मन्त्रालयको नेतृत्व भने गर्नुभएको छैन।
उहाँ यसअघि परराष्ट्र र ऊर्जामन्त्री भइसक्नुभएको छ। उहाँले राष्ट्रिय योजना आयोगमा बसेर पनि काम गर्नुभएको छ।
उहाँका सहोदर दाजु डा. रामशरण महत बारम्बार अर्थमन्त्री बन्नुभएको थियो।
अहिले कांग्रेस सभापति देउवाले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा अघि सार्न सक्ने कांग्रेस नेताहरूको आकलन पछाडि केही रोचक पक्षहरू पनि छन्।
“मेरै दाजु रामशरण महतले अर्थतन्त्रको मजबुत जग खडा गरेको हो। अन्तर्राष्ट्रिय सहयोग र विश्वास आर्जित गरेको हो, भूकम्पकै बेला जोकोहीले त्यस्तो सहयोग ल्याउन सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो ।
“विषयवस्तु बुझ्न सक्ने, सम्बन्धित मन्त्रालयमा पनि नतिजा दिएको र अर्थशास्त्रमै अमेरिकाबाट पीएचडी गरेर आएको भएर पनि म यसमा योग्य छु भन्ने लाग्छ।”
उपसभापति पूर्ण खड्का असन्तुष्ट
प्रकाशशरण महत यसअघि पनि प्रचण्डको मन्त्रिपरिषद्मा बसिसक्नुभएको छ
अहिलेको सरकारको मूल्याङ्कन नै अर्थतन्त्रमा देखिएको चुनौतीको समाधानबाट हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवालाई अर्थमन्त्रीमा अब्बल नेता पठाउने आग्रह गरेको माओवादीका एक नेताले बताउनुभयो।
कांग्रेस सभापति देउवाले आफ्नो दलबाट अर्थमन्त्रीमा महतलाई पठाउने सङ्केत सोमवार भएको भेटमा दिएको दाबी काग्रेस नेताहरुले गरेका छन् ।
माओवादी नेताहरूका अनुसार डा. महतलाई अर्थ मन्त्रालय दिन प्रधानमन्त्री दाहाल अनिच्छुक देखिनुभएको छ। तर देउवाले नाम सिफारिस गरे प्रचण्ड उहाँलाई अर्थमन्त्री बनाउन बाध्य हुनुहुने छ।
अघिल्लो कार्यकालमा प्रचण्डको मन्त्रिपरिषद्मा महत परराष्ट्रमन्त्री हुनुहुन्थ्यो।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले गठबन्धनभित्र सन्तुलन हुनेगरी प्रमुख मन्त्रालयहरूको जिम्मेवारी विभाजन हुने बताउनुभयो।
“कुन मन्त्रालय कुन दलले पाउने र को व्यक्ति त्यसमा हुने भन्ने अझैसम्म टुङ्गो लागिसकेको छैन तर साझेदार दलहरूबीच सन्तुलन हुने गरि मन्त्रालय बाँडफाँट हुन्छ”, उहाँले भन्नुभयो।
देउवासँग सोमवार भेट गरेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ‘अन्तिम टुङ्गो लाग्न बाँकी रहे पनि कांग्रेसबाट महत नै अर्थमन्त्री बन्न सक्ने’ बताउनुभयो ।
“आर्थिक क्षेत्रमा उहाँ (महत) गर्न सक्ने मान्छे नै हो भन्ने हामीलाई लागेको छ। अब उहाँलाई नै पठाउनुहुन्छ कि भन्ने छ तर निर्णय भएर यही व्यक्ति भन्ने भइसकेको छैन,” सहमहामन्त्री उपाध्यायले भन्नुभयो।
उहाँका अनुसार अर्थतन्त्रका चुनौती सामना गर्न सक्ने, आर्थिक क्षेत्रमा केही गर्ने अठोट भएको, निर्णय लिन सक्ने र पार्टीबाट हुने दबाव सामना गर्न सक्ने नेता भावी अर्थमन्त्रीका लागि कांग्रेसबाट सिफारिस हुनसक्छ।
“पार्टीबाट र सांसदहरूबाट पनि अर्थ मन्त्रालयमा दबाव हुन्छ त्यसको व्यवस्थापन गर्न सक्ने क्षमता पनि चाहियो,” उहाँले भन्नुभयो।
देउवानिकट मानिने कांग्रेसकै अर्का सहमहामन्त्री महेन्द्र यादव पनि कांग्रेसको भागमा अर्थमन्त्री आए डा. महत नै दाबेदार हुने ठान्नुहुन्छ।
“अर्थशास्त्रमा पीएचडी गरेको, अर्थतन्त्रको ज्ञान भएको उहाँ नै हो। पार्टीको पनि प्रतिबद्ध साथी हो,” उहाँले भन्नुभयो।
कांग्रेस नेताहरूको भनाइ र कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा धेरै समानता देखिन्छ।
“देउवाले अर्थमन्त्रीमा आफूप्रति शत प्रतिशत बफादार व्यक्ति छान्छन्। त्यसो हुँदा डा. प्रकाशशरण महतबाहेक विकल्प छैन,” उहाँले भन्नुभयो।
आचार्यका अनुसार देउवासँगको निष्ठा र अर्थशास्त्रको पनि पृष्ठभूमिका कारण अन्य दाबेदारहरूभन्दा डा. महत बलियो हुनुहुन्छ।
“उनीसँग अहिलेको अर्थशास्त्रको चुनौती सामना गर्न सक्ने क्षमता छ कि छैन, त्यो मूल्याङ्कन हुन बाँकी कुरा हो। तर कम्तीमा पृष्ठभूमि छ। देउवाले राजनीतिशास्त्रका ज्ञानेन्द्रबहादुर कार्कीलाई त अर्थमन्त्री बनाउनुभयो भने डा. प्रकाशशरण महत हुँदा त उहाँलाई छान्ने भइहाल्नुभयो,” आचार्य थप्नुहुन्छ।
“किनभने देउवाप्रतिको निष्ठाका कारण पनि हो।”
अर्थतन्त्र पढे पनि आर्थिक मामिलामा हुने बहसमा दाइ डा. रामशरण महतजस्तो डा.प्रकाशशरण महतको सार्वजनिक प्रस्तुति नभएको उहाँका आलोचकहरूको आरोप छ ।
महतका आलोचकहरूको भनाइमा केही सत्यता रहेको स्वीकार गर्दै आचार्य भन्नुहुन्छ, “नेपालको अर्थतन्त्र कुन दिशामा जाने के गर्ने र अर्थतन्त्रले सामना गरेका चुनौतीबारे बोल्ने लेख्ने छलफल गर्ने गरेको भेटिएको छैन।”
तर डा. प्रकाशशरण महत भने यस्तो आरोप अस्वीकार गर्नुहुन्छ ।
“त्यस्तो होइन। म पटकपटक त्यस्ता मञ्चहरूमा सहभागी भएको छु। पछिल्लो पटक परराष्ट्रमन्त्री भएर काम पनि देखाएँ त्यसपछि धेरै परराष्ट्र सम्बन्धमा बोलाउने गरिएको हो,” उहाँले भन्नुभयो।
“कि त रामशरण महत त हुनुहुन्थ्यो, अहिले उहाँ संसद्मा हुनुहुन्न।”
डा. महतलाई अर्थमन्त्री बनाउने देउवाको अडानपछि कांग्रेसभित्र भने असन्तुष्टि देखिएको नेताहरूले बताएका छन्।
महतलाई अर्थमन्त्री दिने देउवाको प्रयासपछि पार्टी उपसभापति पूर्णबहादुर खड्का सबैभन्दा बढी असन्तुष्ट देखिएको नेताहरू बताउँछन्।
यसबारे बीबीसीको जिज्ञासामा खड्काले कुनै प्रतिक्रिया नदिने बताउनुभयो।
खड्का आफैँ अर्थ वा गृहमध्ये एक मन्त्रालयसहित उपप्रधानमन्त्री भएर सरकारमा जान इच्छुक देखिएको कांग्रेस नेताहरूको भनाइ छ।
डा.महतले पनि नेतृत्वले आफूलाई विश्वास गरेर अवसर दिने अपेक्षा आफूले लिए पनि अरू नेताहरूका बारेमा टिप्पणी नगर्ने बताउनुभयो।
“पार्टीभित्र मलाई मात्रै एकल विश्वास गरेर जिम्मेवारी दिएको होइन। जसले जुन क्षेत्रमा योगदान काम गर्न सक्छ भनेर नेतृत्वले जिम्मेवारी दिएको छ त्यो अरूले पनि पटकपटक पाएका छन्,” उहाँले भन्नुभयो।
रोजेको मन्त्रालय नपाए पनि कांग्रेसबाट उपप्रधानमन्तरी सहित सरकारको नेतृत्व भने खड्काले नै गर्ने तयारी छ।(स्रोतःबीबीसी)