धनगढी(कैलाली), २२ चैत्र । धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत हालसम्मको खेलमा काठमाडौं गोल्डन्सले सर्वाधिक अंक हासिल गर्ने सफलता पाएको छ ।
बुधवार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरिया माथि रोमान्चक ११ रनको जित हात पारे संगै उसले अहिलेसम्म खेलका तीनवटा खेलमा विजयी बनेर अंक बटुलेको छ ।
धनगढीको एसएसपी मैदानमा पहिले ब्याटिंग गर्दै काठमाडौं गोल्डेन्सले दिएको १३८ रनको बिजय लक्ष्यको पिछा गर्न उत्रिएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र जोड्न सक्यो ।
अत्तरियाको चेजमा गौरभ चित्करले ३६ तथा भिपिन चन्द्रले अविजित २६ रन बनाए । अन्य ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । मात्र २६ बल खेलेका चित्करले १ चौका र ४ छक्का सहित ३६ रन जोडेका थिए तर उनको योगदान विजयको निमित्त पर्याप्त भएन ।
अत्तरियालाई लक्ष्य अगावै रोक्न काठमाडौंका सुबोध भाटीले ३ विकेट उतारेका थिए । खेलमा यस्तै सन्नी पटेल र राशिद खान२(२ विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिंग गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन जोडेको थियो । उसको इनिंगमा ज्ञानेन्द्र मल्लले ४३ बलमा ४ चौका र ३ छक्का सहित ५७ रन जोडेका थिए । यस्तै नरेश बुढाएरले २७ तथा राशिद खानले १६ रनको व्यक्तिगत योगदान गरेका थिए ।
सिवाइसी अत्तरियाको बलिंगमा सुभान्कर उराओले ३ विकेट हातपारेका थिए । यस्तै कृष्ण कार्की र भिपिन चन्द्रले समान २(२ विकेट लिएका थिए ।
धनगढी टिम चौराहमाथि बिराटनगर किंग्स बिजयी
बिहिबारको अर्को खेलमा पवन सर्राफले अलराउण्ड प्रदर्शन गरेपछि डीपीएल–२ मा बिहीबार बिराटनगर किंग्सले धनगढी टिम चौराहमाथि १८ रनको जित हासिल गरेको छ । टस हार्दै पहिले ब्याटिङ्गको निम्तो पाएको बिराटनगरले १९.५ ओभर खेल्दै १२७ रनमा अलआउट भएको थियो ।
बिराटनगरका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए । त्यस्तै ओपनर अनिल साहले २४ रनको महत्वपूर्ण योगदान दिए । बलिङ्गतर्फ धनगढीका लागि सुनिल धमलाले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामी र रोहन मुस्तफाले २–२ विकेट लिए । त्यस्तै ललित भण्डारी र सम्सद शेखले १–१ विकेट हात पारे ।
उता जवाफी ब्याटिङ्गका लागि उत्रिएको धनगढीले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । धनगढीका लागि शंकर रानाले सर्वाधिक २५ रन बनाए भने ओपनर अश्फाक अहमदले २२ रनको योगदान दिए । बलिङ्गतर्फ बिराटनगरका पवन सर्राफले ४ विकेट लिए भने बसन्त रेग्मी र पारस खड्काले २–२ विकेट हात पारे । त्यस्तै शुभम कमतले १ विकेट लिए ।
बिहीबारको खेलमा अलराउण्ड प्रदर्शन गरेका बिराटनगरका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।
अंकतालिका
आजको जितसंगै काठमाडौं गोल्डेन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ३ नै जित सहित काठमाडौंको ६ अंक छ भने आजको जितसँगै बिराटनगर ३ खेलमा २ जितका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहे तापनि नेट रनरेटका आधारमा धनगढी तेस्रो स्थानमा छ । टिम चौराहा धनगढीको ३ खेलबाट ४ अंक रहेको छ ।
यता काठमाडौंसंग हार बेहोरेको सिवाइसी अत्तरियाको भने ३ खेलबाट २ अंक रहेको छ र उ तेस्रो स्थानमा रहेको छ।
महेन्द्रनगर युनाइटेडले २ अंक बटुलेको छ भने रुपन्देही च्यालेञ्जर्सले हालसम्म अंक हासिल गर्न सकेको छैन् ।