Prakash Adhikari April 4, 2023

 

काठमाडौं, २१ चैत्र । एसियाली विकास बैंक (एडीबी)ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ।

बैंकले सन् २०२३ मा ४.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो।

बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ)को पछिल्लो संस्करणमा चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो।

कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता र प्रतिकूल विश्व परिदृश्यका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन सुस्त हुने एडीबीले जनाएको छ।

विश्व अर्थतन्त्रको समस्याले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहलाई धक्का दिने जोखिम देखिएको एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड कुस्वाले बताउनुभयो।

उहाँका अनुसार लगानी योजना र वित्तीय व्यवस्थापन तथा परियोजना तयारीका लागि हुने बजेट खर्चले अर्को वर्ष भने आर्थिक वृद्धिमा सुधार आउने छ।

त्यस्तै कृषि क्षेत्रको वृद्धिदर यो वर्ष २।० प्रतिशत हुने एडीबीको अनुमान छ। अघिल्लो वर्ष २.३ प्रतिशतबाट यो घटाइएको हो। यसबाहेक सेवा क्षेत्रको वृद्धिदर पनि गत वर्षको ५.९ प्रतिशतबाट घटेर ४.४ प्रतिशशतमा रहने एडीबीले जनाएको छ।

यो वर्ष नेपालको महंगी गत वर्षको ६.३ प्रतिशतबाट बढेर ७.४ प्रतिशत पुग्ने र चालू खाता घाटा जीडीपीको ४ प्रतिशतमा समेटिने एडीबीले जनाएको छ।

Share Now

Leave a comment.