Prakash Adhikari April 5, 2023

काठमाडौं, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी (पासपोर्ट) दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजका लागि तोकिएको छ।

उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा हिजै (मंगलबार)का लागि पेसी तोकिए पनि उहाँको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो।

सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिनुभएको थियो।

यो मुद्दामा अब आज (बुधबार) पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने वा नबढ्ने निश्चित हुनेछ।

सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।

मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हाल्नुभएको थियो।

रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी भएका रविले र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिनुभएको थियो।

उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिनुभएको थियो। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानका क्रममा स्वीकार गर्नुभएको थियो।

नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरेपश्चात् नेपाली नागरिक कायम नहुने व्याख्या भएको निवेदनमा उल्लेख थियो।

Share Now

Leave a comment.