
काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी भएको बताएका छन् । उनले वर्तमान सरकारका अर्थमन्त्रीले संसदमार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक रहेको समेत आरोप लगाएका छन् ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले भने, “विसं २०६२।६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट भएको छ । श्वेतपत्रमा काँग्रेसका कारण अर्थतन्त्र धरासायी भयो भन्नु आफैँमा कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । विगतका वामपन्थी सरकारका नीतिका कारण अर्थतन्त्र धरासायी बनेको हो ।”
उनले नेपाली कांग्रेसलाई आगामी पाँचवर्षभित्र पहिलो स्थानमै पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, “तीन तहका निर्वाचनमा दुई वामपन्थी पार्टी मिलेका कारण उनीहरुले पहिलो स्थान ल्याएका हुन्, यसमा काँग्रेसको कुनै आपत्ति छैन तर देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा भने पार्टी चुप लागेर बस्दैन ।”
लोकतन्त्रको संस्थागत विकास गर्न पार्टीले जोड दिने उल्लेख गर्दै कांग्रेस सभापति देउवाले आगामी अधिवेशनमा पार्टीको विधान संशोधन गरी वडा तहदेखि माथिल्लो तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व गराइने जानकारी दिए ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा बनेका सरकारले गरेका विकासका कामलाई जनतासामु लान नसक्दा गत निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको चर्चा गर्दै पार्टीलाई जीवन्तता दिन नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाल ट्रेड युनियन काँग्रेसका सभापति खिलानाथ दाहालले श्रम आयोग गठन गर्न र श्रम विनियमावली ल्याउन माग गरे ।
सम्मेलनको उद्घाटन शत्रमा संघका पूर्व अध्यक्षहरु गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मान गरिएको थियो ।