काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसको कोइराला समूह तीन मन्त्री र एक राज्यमन्त्री लिनेगरी सरकारमा सामेल हुने भएको छ।
समूहका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज भएको बैठकमा नेता कोइरालाले समूहका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री पठाउने अवस्था विकसित भएको ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति शेरबहादुर देउवासँग समझदारी बनेको जानकारी दिनुभएको थियो।
बैठकले समूहका तर्फबाट सरकारमा सहभागी हुने प्रतिनिधिको निर्णय गर्ने अधिकार समूहमा रहेका पदाधिकारीलाई जिम्मा दिएको छ।
बैठकमा महामन्त्री गगन थापा र नेता कोइरालाले मन्त्रिपरिषद् विस्तार, उपनिर्वाचन, भ्रातृ संगठन नेपाल शिक्षक संघको जारी निर्वाचनलगायतका विषयमा जानकारी गराउनुभएको थियो।
यसअघि कोइराला समूहले पार्टीको भागमा परेका ८ मन्त्रालयमध्ये ३ मन्त्रालय आफ्नो समूहले पाउनु पर्ने अडान राख्दै आएको थियो। तर, सभापति शेरबहादुर देउवा मान्नुभएको थिएन ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप एक मन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि देउवा पनि इतर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन हुनुभएको बताइन्छ ।
कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रवक्ता डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री हुुनुहुन्छ।
संस्थापन पक्षबाट केन्द्रीय सदस्यद्वय एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ।
अब थपिने मन्त्रीमा एनपी साउदलाई परराष्ट्र, धनराज गुरुङलाई स्वास्थ्य, डिगबहादुर लिम्बूलाई कानुन, मोहन बस्नेतलाई खेलकुद मन्त्रालय पर्न सक्ने बताइन्छ ।
कोइराला समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियार, डिगबहादुर लिम्बू, सुरेन्द्रराज आचार्य मन्त्रीका आकांक्षी देखिनुभएको छ।