Prakash Adhikari April 28, 2023

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकूको नाममा माओवादी कार्यकर्ता पोस्ने दाहाल सरकारको निर्णयको विरोध गर्नुभएको छ ।

कांग्रेसका वरिष्ठ नेता डा. कोइराला र महमन्त्री थापाले सामाजिक सञ्जालमार्फत यसको विरोध गर्नुभएको हो ।

वरिष्ठ नेता कोइरालाले अयोग्य लडाकूलाई सरकारी कोषको रकम होइन रोजगारी दिन माग गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं।”
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।

गगनद्धारा संक्रमणकालीन मुद्दामा जोड

यता महमन्त्री थापाले राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने माग गर्नुभएको छ ।

महामन्त्री थापाले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राख्नुभएको छ ।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्,’ महामन्त्री थापाले भन्नुभएको छ ।

सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्ने तयारी गरेपछि त्यसको विरोध भइरहेको छ ।

Share Now

Leave a comment.