Prakash Adhikari April 28, 2023

 

काठमाडौं, १५ वैशाख  । अर्थ मन्त्रालयले विविध शीर्षक अर्थात् प्रयोजन खुलाउन नपर्ने शीर्षकमा ३१ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले चैत महिनामा मात्रै ३१ अर्ब ४१ करोड ५४ लाख ३१ हजार रुपैयाँ विविध शीर्षकमा निकासा दिएको हो ।

राजस्व कम उठेर सरकारी कामकाजका लागि समेत खर्च जुटाउन मुस्किल भइरहेका बेला अर्थ मन्त्रालयले एक महिनामै यति ठूलो रकम प्रयोजन खुलाउन नपर्ने शीर्षकमा निकासा गरेको पाइएको हो । सरकारले कर्मचारीलाई तलब खुवाउनकै लागि प्रत्येक हप्ता राष्ट्र बैंकमार्फत विभिन्न उपकरण जारी गरी ऋण उठाउने गरेको छ । राजस्व कम उठेर ढुकुटी रित्तिँदै गएपछि अनावश्यक खर्च कम गर्ने भनेको सरकारले आफैँ प्रयोजन नै खुलाउन नपर्ने शीर्षकमा पैसा बाँडिरहेको छ ।

अर्थ मन्त्रालयका अनुसार विविध शीर्षकमा रकम लिने कार्यालय तथा पदाधिकारीहरु राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, प्रदेश प्रमुख, संघीय संसद्का पदाधिकारी र कर्मचारी, सुरक्षाकर्मीलगायत छन् । यी निकायका पदाधिकारी तथा कर्मचारीहरुले विविध शीर्षकमा रकम बुझ्ने गरेका छन् ।

विविध शीर्षकमा सबैभन्दा धेरै रकम खर्च गर्ने मन्त्रालय अर्थ मन्त्रालय आफैँ छ । अर्थले प्रयोजन खुलाउन नपर्ने गरी २७ अर्ब रुपैयाँ खर्च गरेको छ । यसबाहेक कृषि तथा पशुपन्छी विकासलाई तीन अर्ब ३२ करोड ९४ लाख रुपैयाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तीन करोड २१ लाख २२

हजार रुपैयाँ, परराष्ट्रलाई ८८ करोड ५० लाख २२ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायातलाई ४० लाख ५० हजार रुपैयाँ, शिक्षा, विज्ञान तथा प्रविधिलाई दुई करोड ६५ लाख २५ हजार रुपैयाँ, खानेपानीलाई ४७ लाख ६६ हजार रुपैयाँ र गृहलाई चार लाख सात हजार रुपैयाँ निकासा गरिएको हो ।

आन्तरिक ऋण (विकास ऋणपत्र) भुक्तानीको लागि अर्थलाई, लागत सहभागिताको आधारमा कृषकहरुलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने प्रयोजनार्थ कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई अनुदानबापतको रकम उपलब्ध गराउन र बाँकी भुक्तानीको लागि कृषिलाई, राजस्व अनुसन्धान विभागको लागि प्रधानमन्त्री कार्यालयलाई रकम निकासा गरिएको बताइएको छ ।

प्रदेश प्रमुखको हकमा भने चालू खर्चका लागि, संसद्को हकमा भने कर्मचारी तथा सुरक्षाकर्मी र अन्य पदाधिकारीलाई भत्ताको लागि, लोकसेवा आयोगलाई परीक्षा व्यवस्थापनको लागि, प्रधानमन्त्री कार्यालयका लागि चालू खर्चका लागि, अर्थलाई जात्रा सञ्चालन, घरभाडालगायतका हरेक कार्यालयका विविध शीर्षकमा रकम आवश्यक परेको भन्दै निकासा गरिएको हो ।

अर्थ मन्त्रालयले विविध शीर्षकमा विभिन्न कार्यालयहरुले रकम माग गरेपछि निकासा गरिएको बताएको छ । विविध शीर्षकमा अत्यन्त आवश्यक रकमहरु पठाउने काम अर्थले गर्छ । त्यसैले गर्दा माग आएअनुरुप निकासा दिएको अर्थका अधिकारीले बताए । विशेष गरी अप्रत्याशित शीर्षकलाई आवश्यक पर्ने रकम विविध शीर्षकको बजेटमा व्यवस्थापन गरिएको हुन्छ । प्राकृतिक प्रकोप, दुर्घटना, महामारीलगायतका घटना घट्ला भन्ने उद्देश्यले विविध शीर्षकमा बजेटमार्फत रकम विनियोजन गर्ने परिपाटी रहेको र सोहीअनुरुप वितरण गरिने अर्थका सूचना अधिकारी बसन्तराज तिवारीले बताए । त्यसैले गर्दा अप्ठ्यारो परिस्थिति तथा रकम अत्यन्त आवश्यक हुँदा विविध शीर्षकमार्फत रकम निकासा गर्ने गरेको र हाल पनि सोहीअनुरुप अघि बढेको उनको भनाइ छ । यद्यपि विविध शीर्षकमा अनावश्यक खर्च गरिएको आशंका सरोकारवालाहरुले गरेका छन् । अर्थसँग रकम हुन्छ त्यसलाई खर्च गर्न वा कर्मचारी तथा पदाधिकारीहरुले आफ्नो खल्तीमा ल्याउनको लागि विविध शीर्षकको प्रयोग गरी रकम लिने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ ।

अर्थले विविध शीर्षकमा मात्र नभई बहुवर्षीय ठेक्काको लागि समेत ४८ करोड १२ लाख रुपैयाँको सहमति दिएको छ । जसमा राष्ट्रिय हरवोरियम भवन निर्माण गोदावरी ललितपुरका लागि ४० करोड ५० हजार रुपैयाँ र सामाखुसी टोखा गुर्जे सडक अयोजना काठमाडौंका लागि सात करोड ६२ हजार रुपैयाँ निकासा गर्ने सहमति दिएको हो । अर्थले पुँजीगत शीर्षकमा एक अर्ब ७९ करोड ८८ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ । सो निकासा रकम चैत महिनाको लागि हो ।(आर्थिक दैनिकबाट)

Share Now

Leave a comment.