Prakash Adhikari April 29, 2023

काठमाडौं, १६ वैशाख ।  निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ ।

कम्पनीले  जुन १५ मा थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

बुद्धले पोखराबाट पनि देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ।

हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट ‘प्राइम टाइम’ मा पोखराको उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ।

–––

Share Now

Leave a comment.