दमौली, २० वैशाख (रासस) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन: सञ्चालनमा आएको छ ।
आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपश्चात् राजमार्ग सञ्चालन भएको हो ।
डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नंको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किँदा स्थानीय घाइते भएका थिए ।
आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् । दुर्घटनापश्चात् स्थानीयवासीले सडकअवरुद्ध गरेर ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरक्षिक मोहनबहादुर खाणले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको स्थानीयवासी समेत रहनुभएका नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिनुभयो । “घुम्तीमा एक्काीस ट्रले आएरु ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्,” अधिकारीले भन्नुभयो ।
ठक्करबाट दश वर्षीया जस्मि भुजेल, सात वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, सात वर्षीया आयुषा भुजेल, दश वर्षीय इश्वर भुजेल, आठ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन् ।


















