नाम्चे(सोलखुम्बु), ८ जेठ ।यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन् ।
विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब ५ सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । “वसन्त ऋतुको सगरमाथा आरोहणमा ४ सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब ५ सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भन्नुभयो ।
मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १ सय ३ महिला र ३ सय ७६ पुरुष गरी कूल ४ सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।


















