Prakash Adhikari May 30, 2023

कोहलपुर(बाँके),१६ जेठ । बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।

सुर्खेततर्फ जाँदै गरेको डा. खड्काको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।

पारिवारिक स्रोतका अनुसार दुर्घटनामा खड्काकी बुहारी सञ्जु र कार चालक गोरखाको आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।

दुर्घटनापछि उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगाएको थियोे। उनीहरूको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुनुहुन्छ।

डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशक हुनुहुन्छ। निर्देशक डा. खड्का विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गत जेठ ६ गते जेनेभा जानुभएको छ।

मृतक सञ्जु र डम्बरका दुई छोरा छन्।

‘घटनापछि उपप्रधानमन्त्री खड्का अस्पताल पुगिसकेका छन्ु, स्रोतले भन्यो, ‘अस्पतालमा सेना पनि खटाइएको छ। आफन्त र शुभचिन्तकहरू आइरहनुभएको छ। सबै शोकमा पर्नु भएको छ।

प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा यातायात प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए।

बसका यात्रुहरूमध्ये ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ।

 

Share Now

Leave a comment.