हरारे(जिम्बाबे), ३० जेठ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि आधिकारिक वार्मअप खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई सँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
खेलमा नेपाली टिमको नेतृत्व कप्तान रोहित पौडेल र युएईको नेतृत्व कप्तान मोहम्मद वासिमले गर्नेछन् ।
नेपाल जिम्बावेको कन्डिसन अनुसार खेल्ने छ । नेपालले आज ब्याटिङमानै ध्यान केन्द्रित गर्नेछ । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।
विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
युएईको टोली
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।


















