मिक्लाजुङ, ३ असार (रासस) । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्
फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिनुभयो । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।
पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।
पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् । उहाँहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ । “यादव सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो । पहिराले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो”, उहाँले भन्नुभयो, “बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।”
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन् ।








