सानेपा(ललितपुर),१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य पदाधिकारी सहित नेताहरुले नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरलाई शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले दिएको शुभकामना सन्देशमा भनिएको छ, नयाँ वर्ष २०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सभापति देउवाको सन्देशमा भनिएको छ , नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ ।संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।
कांग्रेस सभापति देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक भएको उल्लेख गरेका छन् ।
उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नयाँ बर्ष २०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा लोकतन्त्रको जगेर्ना, संविधानको कार्यान्वयन, कानुनी राजको स्थापना गरी मुलुकलाई विकसित र समृद्ध बनाउने नेपालीको चाहनालाई साकार पार्ने संकल्प लिन सबैलाई आग्रह गरेका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि नयाँ बर्षको उपलक्ष्यमा सबै नेपालीमा सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि सबै नेपालीमा सुख शान्ति र समृद्धिको कामना गरेका छन् । उनले संघीय शासन प्रणाली मार्फत जनताका चाहना पूरा गर्न यो बर्ष ऐतिहासिक अवसर भएको पनि उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली कांंग्रेसका नेता प्रकाशमान सिंहले नवबर्ष २०७५ को अवसरमा सबै नेपालीमा सुख,शान्ति र समृद्धिको कामना गरेका छन ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.ले पनि नयाँ बर्षको अवसरमा समस्त नेपालीलाई सुख,शान्ति र समृद्धिको लागि शुभकामना दिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले हरेक नेपालीको सुख,समृद्धि एवं प्रगतिको शुभकामना ब्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै २०७५ सालको पहिलो दिन, हामी शताब्दीपुरुष सत्यमोहन जोशीको समुपस्थितिमा ‘म बन्छु जिम्मेवार: कर्तव्य सङ्गै अधिकार’ अभियानको प्रारम्भ गर्दैछन् । उनले भनेका छन,’यो बर्ष हामी जति अधिकार प्रति सचेत रहनेछौ, त्यति नै सचेत कर्तव्य प्रति पनि रहनेछौ ।’
नेपाली कांग्रेसका युवा नेताहरु नविन्द्रराज जोशी, एनपी साउद, चन्द्र भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल र आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले पनि नया बर्ष २०७५ को सुखद उपलक्ष्यमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ, दीर्घायु, सुख,शान्ति र प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।