Prakash Adhikari April 14, 2018

वाशिंटन(संयुक्त राज्य अमेरिका), १ बैशाख (बीबीसी) । सिरियाको पूर्वी गुटामा भएको भनिएको रासायनिक हमला पछाडि सिरिया सरकार रहेको र त्यसलाई रोक्न रूसले केही नगरेको प्रमाण आफूसँग रहेको अमेरिकाले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही किसिमका अस्त्रहरू र त्यसलाई प्रयोग गर्ने साधन रहेको पनि बताइन्।

अमेरिका, फ्रान्स र ब्रिटेनले सैन्य प्रतिक्रिया जनाउने जस्तो देखिएका बेला अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरूले सिरियामा त्यसबारे छानबिन शुरू गर्न लागेका छन्।

सिरियामा महत्त्वपूर्ण सैन्य उपस्थिति जनाएको रुसले ब्रिटेनलाई हमलाको विषयमा उक्साइरहेको आरोप लगाएको छ, जुन दाबीलाई लण्डनस्थित सरकारले भने सशक्त रूपमा अस्वीकार गरेको छ।

चेतावनी

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवले ‘शीतयुद्ध प्रतिशोधका रूपमा फर्किएको’ बताएका छन्।

महासचिव एन्टोनियो गुटेरसले सिरियामा युद्ध भड्किँदा त्यसले निम्त्याउने खतराबारे चेतावनी दिएका छन्।

गुटेरसले उक्त चेतावनी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकको शुरूमा दिएका हुन्।

उनले सबै देशहरूलाई अहिलेको खतरापूर्ण अवस्थामा यसबारे जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुन आह्वान गरे।

खतरा

अमेरिका र उनका साझेदार मुलुकहरूले सिरियाविरुद्ध त्यहाँ क्षेप्यास्त्र हमला गर्नेबारे छलफल गरिरहेका छन्।

सिरियामा भएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप उनीहरूले क्षेप्यास्त्र हमला गर्नेबारे छलफल गरिरहेका हुन्।

तर सिरिया सरकारलाई सघाइरहेको रुसले भने यदि त्यस्तो भए त्यसले युद्ध शुरू गर्ने खतरा रहेको बताएको छ।

फ्रान्सेली राजदूतले सिरियाली सरकार फर्किन नसक्ने बिन्दुमा पुगेको बताएका छन्।

Share Now

Leave a comment.