काठमाडौं, १ बैशाख । बहालवाला र कतिपय पूर्व विशिष्ट व्यक्तिहरुबाट नै सुरक्षाकर्मीहरुको दुरुपयोग भएको गुनासो माझ समयसिमा नै तोकेरै निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले सुरक्षा प्रयोजन बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई ७ दिनभित्र फिर्ता गर्न मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शुक्रबार निर्देशन दिएको हो।
बहालवाला र कतिपय पूर्व विशिष्ट व्यक्तिहरुबाट नै सुरक्षाकर्मीहरुको दुरुपयोग भएको गुनासो माझ समयसिमा नै तोकेरै निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीले केहीदिन यतामात्र नीति विपरित खटिएका ५७ जना सुरक्षाकर्मी र २५ जना सवारी चालकलाई फिर्ता गरिसकिएको जनाएको छ।
प्रधानमन्त्री र गृहमन्त्रीले पटक-पटक त्यस्ता सुरक्षाकर्मीलाई फिर्ता गर्न गरेको आग्रहलाई समेत बेवास्ता गरिएकोले गृह प्रशासन सुधार कार्ययोजनालाई कडाइपूर्वक लागू गरिएको बताइएको छ।
निर्देशन
सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी विद्यमान कार्यविधि अनुसार विभिन्न राजनीतिक दलका नेता, सरकारी उच्च पदस्थ कर्मचारी र अन्य विशिष्ठ व्यक्तिहरुलाई सुरक्षा जोखिम हेरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटाउँदै आएको छ।
तर कतिपयले नियम विपरित सुरक्षाकर्मीलाई घरको बगैंचा वा भान्सामा कामदारको रुपमा राख्ने गरेको र कुनै सुरक्षा जोखिम नभएकाले समेत वर्षौंदेखि व्यक्तिगत सुरक्षाकर्मी राख्ने गरेको गृहमन्त्रालयको ठम्याइ छ।
उक्त निर्देशन बारेमा गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘हामीले विशिष्ट सुरक्षा सम्बन्धी निर्देशिकाले निर्दिष्ट गरेको र त्यो भन्दा बढी संख्यामा रहेका र निर्णय नभइकन पनि राखिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन दुबै सुरक्षा निकायलाई निर्देशन जारी गरेका छौं।’
हामीले विशिष्ठ सुरक्षा सम्बन्धी निर्देशिकाले निर्दिष्ट गरेको र त्यो भन्दा बढि संख्यामा रहेका र निर्णय नभईकन पनि राखिएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन दुवै सुरक्षा निकायलाई निर्देशन जारी गरेका छौं
रामकृष्ण सुवेदी, प्रवक्ता, गृहमन्त्रालय
गृह मन्त्रालयले केही दिनअघि नियम विपरित खटिएका त्यस्ता सुरक्षाकर्मीको विवरण माग गरेको भएपनि चित्त बुझ्दो विवरण प्राप्त नभएपछि पुनस् परिपत्र गरेको बताएको छ।
नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थमात्रै झण्डै ३१५ जना रहेको गृह मन्त्रालयले जनाएको छ।
जानकारी
निर्देशिका विपरित सुरक्षाकर्मी नखटाइएको बताउँदै नेपाल प्रहरीका प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज नेउपानेले भने, ‘सुरक्षाकर्मीहरु भान्छा वा बगैंचाको काममा खटिएको मलाई जानकारी छैन, प्रहरीले व्यक्तिगत सुरक्षाका लागि भनेर मात्र खटाइएको हुन्छ। तर पनि केही नीतिभन्दा बाहिर खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता हुने क्रम जारी छ।’
सशस्त्र प्रहरी बलका करिब पाँचसय सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीको सुरक्षामा खटिएको गृह मन्त्रालयको भनाइ छ।
सुरक्षाकर्मीहरु भान्छा वा बगैंचाको काममा खटिएको मलाई जानकारी छैन, प्रहरीले व्यक्तिगत सुरक्षाका लागि भनेर मात्र खटाईएको हुन्छ। तर पनि केही नीतिभन्दा बाहिर खटिएका केही सुरक्षाकर्मीहरु फिर्ता हुने क्रम जारी छ
मनोज नेउपाने, प्रवक्ता, नेपाल प्रहरी
नियम विपरित कसैलाई सुरक्षा नदिएको बताउँदै सशस्त्र प्रहरीका प्रवक्ता नायब प्रहरी महानिरीक्षक बाबुराम पाण्डेले भने, ‘जसले सुरक्षा पाउनुपर्ने हो उहाँहरुले पाउनुपर्ने संख्यामा तलमाथि भएको हुनसक्छ। तर विशिष्टलाई सुरक्षा सम्बन्धी नियमावली विपरित खटाएको जस्तो लाग्दैन मलाई।’
विशिष्ट व्यक्तिको व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मी अथवा पीएसओहरु बढिमा २ बर्ष मात्र खटिन पाउने मापदण्ड भएपनि कैयन सुरक्षाकर्मीहरुबाटै त्यसको पालना नभएको बताइन्छ। BBC