काठमाडौं, ८ आषाढ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले खेल खेलिरहेको आरोप लगाउनुभएको छ।
पार्टी सम्पर्क विभागले आयोजना गरेको कार्यक्रममा उहाँले जनताको बलिदानले ल्याएको गणतन्त्र उल्ट्याउन एमालेले अनेक तिकडम गरिरहेको आरोप लगाउनुभयो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादहरुसँग घाटी जोड्न एमाले लालयित भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाउनुभयो।
अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा केपी ओली बर्बराइरहेको आरोप लगाउनुभयो।
उहाँले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र नेकपा एसको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्नुभयो।
उहाँले एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने भन्दै श्रमिक जनतासग एकताबद्ध भएर पार्टी चलाउन अध्यक्ष नेपाललाई सचेत गराउनुभयो ।


















