Prakash Adhikari June 27, 2023

काठमाडौं, १२ आषाढ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८० ।८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री डा. महतले बजेट असार १३ गते कुनैपनि संशोधन बिना बजेट पास हुने बताउनुभयो।

डा.महतले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको र अहिलेको वास्तविकतामा बजेट आएको बताउनुभयो।

बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताउदै डा. महतले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि उल्लेख गर्नुभयो।

अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो। अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ। आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो।’

‘तर उहाँहरुले थोरै साधन श्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु। उहाँहरुले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ। विधि भित्र रहेर काम गर्नेछौँ।’डा.महतले भन्नुभयो ।

मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेरबजेट पास हुने बताउनुभयो।

Share Now

Leave a comment.