Prakash Adhikari June 28, 2023

काठमाडौं, १३ असार, । सत्तागठबन्धनमा रहेका तर बजेटसंग असन्तुष्ट दलहरुले बजेटलाई सशर्त पास गर्ने सघाउने संभावना बढेको छ ।

आज बिहान जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक बस्दै छ । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न सघाउने कि नसघाउने विषयमा निर्णय लिन लागेको छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० (बजेट) पास गर्ने तयारी छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधबार बिहान साढे १० बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट बजेटबारे निर्णय लिने बताउनुभएको छ । उपाध्यक्ष पाण्डेले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।

उहाँका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा छ । बजेट निर्माण प्रक्रियामा सांसदको भूमिकालाई कमजोर बनाएका कारण उत्पन्न असन्तुलनलाई सच्याउने प्रतिबद्धता प्रधानमन्त्री र अर्थमन्त्रीले रोस्ट्रमबाट व्यक्त गरे मात्रै बजेट पास गर्न सघाउने पाण्डेले बताउनुभयो ।

यसैगरी जसपाका सांसद प्रदीप यादव, नाउपाका सांसद गंगाराम चौधरीले आज बस्ने पार्टीको संसदीय दलको बैठकबाट बजेटबारे आवश्यक निर्णय लिने बताउनुभएको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा सोचेअनुसारको योजना र बजेट नपरेको तथा राजस्व संकलनको लक्ष्य तथा आवश्यकता बीच तालमेल नमिलेको भन्दै बजेट सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

Share Now

Leave a comment.