
काठमाडौं, १३ आषाढ । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिन लामो उपचारपछि बुधबार दिउँसो अस्पतालबाट शीतल निवास फर्किनुभएको छ।
गत असार २ गतेदेखि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेललाई ११ दिनपछि डिस्चार्ज गरिएको हो।
त्यसक्रममा यही असार ५ मा पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो। सेन्टरका चिकित्सकहरुले पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएदिएका थिए।
राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। लामो उपचारपछि उहाँलाई चिकित्सकहरुले डिस्चार्ज दिएका हुन्।
राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले असार २ गते भर्ना हुनुभएका पौडेल विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी र उपचारपछि डिस्चार्ज भएर शीतल निवास फर्किएको जानकारी दिनुभएको छ।
‘स्वास्थ्योपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्ने सबैलाई राष्ट्रपतिले धन्यवाद दिनु भएको छ’, भट्टराईले भन्नुभएको छ।