Prakash Adhikari July 5, 2023

काठमाडौं , १९ आषाढ । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्र्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद २०८० पुस मसान्तसम्म थप गर्न सहमति दिएको हो ।

कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै सरकारले निजामति सेवाको राजपत्राकिंत विशिष्ठ श्रेणिको रिक्त पदमा घनश्याम उपाध्याय लाई बढुवा गरेको छ ।

उपाध्यय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको पदमा कार्यरत हुनुहुन्थ्यो ।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने बष्ुवा समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत हुनुुहुन्छ । घिमिरे चीनको छेन्दुमा महाबाणिज्यदूत हुनुहुन्छ ।

शंकरदास बैरागीले राजीनामा दिएपछि सचिव पदमा कार्यरत बैकुण्ठ अर्याल मुख्यसचिव हुनुभएको छ र सचिव यादव कोइराला पनि अवकाशमा जानुभएको छ । सचिव रामप्रसाद थपलियाले मंगलबार राजीनामा दिनुभएको छ ।

रिक्त सचिव पदमा बढुवाका लागि समितिको बैठक फेरि बस्ने बताइएको छ ।

Share Now

Leave a comment.