
काठमाडौं,२० आषाढ । युनियन मेवा हाइड्रोले ताप्लेजुड.को मेवा खोलामा २३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।
मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहमा युनियन मेवा हाइड्रो लिमिटेडका तर्फबाट अध्यक्ष ई.किरण मल्ल र आयोजनामा कर्जा लगानी गर्ने वित्तिय संस्थाहरुको नेतृत्व गरिरहेको बैंक लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सदन भट्टराईले लगानी संझौतामा हस्ताक्षर गरी संझौताको प्रति आदान प्रदान गर्नुभएको थियो ।
युनियन मेवा हाइड्रोपावर कम्पनीले दिएको जानकारी अनुसार यो आयोजनाको कुल लागत ४ अर्ब ७० करोड रहेको छ । कूल लागत मध्ये ७५ प्रतिशत रकम बैंकहरुले लगानी गर्ने छन् । जुन ३ अर्ब ५ करोड हुने छ । आयोजनाका संस्थापक शेयर धनीहरुले कूल लागतको २५ प्रतिशतले हुन आउने १ अर्ब १८ करोड रकम लगानी गर्ने छन् ।
आयोजनामा लगानी गर्ने बैंकहरुको नेतृत्व गरिरहेको लक्ष्मी बैंकले १ अर्ब ५२ करोड, नबिल बैंकले १ अर्ब र हिमालयन बैंकले १ अर्ब लगानी गर्ने छ ।
सो अवसरमा आयोजनाका विकेश प्रधानाड.ग र अभिज्ञा मल्ल पनि उपस्थित हुनुहुन्थ्यो ।
युनियन मेवा हाइड्रोले ताप्लेजुड. जिल्लाको मिक्वा खोला गाउँपालिका वडा नं ५ मा निर्माण गर्ने २३ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट बार्षिक १३६.७९ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाको लागि खेस्तेम्बे भन्ने स्थानमा बाँध बाँधेर करिब ३ हजार ६ सय मिटर टनेलमार्फत लगिने पानी १५३६ मिटरको पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा अवस्थित सतही विद्युत गृहमा रहेका दुईवटा पेल्टन टर्वाइनमा खसालिने छ । त्यसबाट उत्पादित विद्युत ५ किलोमिटर लामो १३२ के.भी. सिंगल सर्किट ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय प्रशारण ग्रीडमा जोडिने छ । राष्ट्रिय प्रशारण ग्रीड कम्पनीले १३२ / २०० के.भी. मेवा सवस्टेशन बनाउदै छ ।
आयोजनाको निर्माण कार्य अन्तरगत पहुँच मार्गको १३ कि.मी.मध्ये ११.५ कि.मी. सम्पन्न भई अन्तिम चरणमा रहेको छ । आयोजनाले हेडवक्र्स र विद्युत गृह निर्माणको स्थलमा आवास भवन निर्माण गरिसकेको छ ।
आयोजनाको व्यवसायिक सञ्चालन मिति २०८२ पौष १४ गते रहेको छ ।
वित्तीय व्यवस्थापन संझौता पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष ई.किरण मल्लले नेपालमा उत्पादित जलविद्युत भारत र वंगलादेशमा विक्री गर्न सहज हुँदै जाने देखिएकोले यस क्षेत्रको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
उहाँले आयोजना निर्धारित समयमा, अनुमानित लागतभित्र उच्च गुणस्तरमा निर्माण गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।