
काठमाडौं, २० आषाढ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ ।
आज दिउँसो ३ बजे निर्धारित बैठक एक घन्टा ढिलो गरी सुरु भएको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले हालै एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँदिल्ली गएको सन्दर्भ उल्लेख गर्नुभएकामा विपक्षीले आपत्ति जनाएका थिए । तत्पश्चात् आजै आधा घन्टाका लागि स्थगन भएको बैठक साँझ ७ बजे सूचना टाँसेर यही असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।
राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो । तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ ।