
न्यूयोर्क(संयुक्त राज्य अमेरिका),१ बैशाख(बीबीसी) । पश्चिमा शक्तिहरूले सिरियाविरुद्ध गरेका क्षेप्यास्त्र हमलाबारे छलफल गर्न रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा आपत्कालीन बैठक बसेको छ।
बैठकको आरम्भमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको द्वन्द्वको राजनीतिक समाधान खोज्नका लागि आह्वान गरेका थिए।
उनले सिरियामा त्यहाँका मानिसहरू रासायनिक अस्त्रको प्रयोग लगायतका विभिन्न भयावह घटनाहरूमाझ जीवन बिताउन बाध्य रहेका बताए।
रुसका राजदूतले सिरियामा भएका हमलाहरूले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घनलाई दर्शाएका बताए।
पेन्टागन
त्यसअघि अमेरिकी रक्षा मन्त्रालयले सिरियामा गरिएको संयोजित हमलाले उक्त देशको रासायनिक अस्त्र कार्यक्रमलाई आगामी वर्षहरूमा पुन: सञ्चालनमा आउन नसक्ने तुल्याइदिएको बताएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा गरिएको हमलालाई लक्षित गर्दै त्यहाँ “उद्देश्य पूरा” भएको सन्देश ट्विटरमा लेखेका थिए।
उता सिरियाका राष्ट्रपति बशर अल असदले भने ती हमलाबाट आफू आफ्ना विपक्षीहरुलाई पराजित गर्न झन् दृढ भएको बताएका थिए।
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले हमलाहरू कानुनविपरीत गरिएको भन्दै अस्वीकार्य भएको बताएका थिए।
सिरियामा गरिएको हमलामा झन्डै एक सय वटा क्षेप्यास्त्रहरु प्रहार गरिएका थिए। तिनमध्ये १२ वटा फ्रान्सेली र आठ वटा ब्रिटिश क्षेप्यास्त्र थिए।
दावी
प्रत्यक्षदर्शीहरूले सिरियाली राजधानीमा ठूलो विस्फोटको आवाज सुनेको र धूँवाको मुस्लो उडेको देखेको बताएका थिए।
रुसको प्रतिरक्षा मन्त्रालयका अनुसार सिरियाली हवाई प्रतिरक्षा प्रणालीले तीमध्ये दुईतिहाइलाई बीचैमा रोकी खसालिदिएको दावी गरेको छ। तर उसले त्यसका लागि कुनै प्रमाण भने प्रस्तुत गरेको छैन।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सिरियाविरुद्ध सैनिक कदम चाल्नु कानुनसम्मत र उचित भएको बताउँदै त्यसबाट सिरियामा थप मानवीय सङ्कट हुन नदिन र रासायनिक अस्त्रको प्रयोग निरुत्साहित हुने बताएकी छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यस्ता अस्त्रहरूको प्रयोगलाई सामान्य ढङ्गले लिने व्यवहार आफूले सहन नगर्ने बताएका छन्।
त्यसै गरी टर्कीका राष्ट्रपतिले ती क्षेप्यास्त्र हमलालाई उचित ठहर्याएका छन्।
तर इरानका सर्वोच्च धर्मगुरु आयातोल्लाह अलि खामेनइले अमेरिका, ब्रिटेन र फ्रान्सका नेताहरूलाई “अपराधीहरु” भन्दै ती हमलाबाट तिनीहरूलाई कुनै लाभ नहुने दावी गरेका छन्।