काठमाडौं, २७ आषाढ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिनुभयो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।
श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुग्नुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको छ । दाहालको निधनको खबर थाहा पाएपछि उहाँहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।
दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।
दाहालको पार्थीव शरीर पार्टी कार्यालयमा
नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।
पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भन्नुभएको छ । उहाँले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
“सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ”, वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।”
माओवादीका सल्लाहकार दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो ।
विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित हुनुभएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय हुनुहुन्छ । सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० बजेदेखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।


















