
काठमाडौं, ६ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गर्नुभएको छ ।
साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहाल पनि इटली जानुभएको छ ।
प्रधानमन्त्री दाहाललाई बिदाई गर्न, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्याल लगायत विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नुहुने छ ।
प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुने छ ।
शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।