
इनरुवा(सुनसरी), ७ श्रावण । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ।
सुनसरी सदरमुकाम इनरुवामा शनिवार नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो।
वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उहाँको भनाइ छ।
कांग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै उहाँले वर्तमान सरकार जनताको हितमा काम गर्नेमा प्रतिबद्ध व्यक्त गर्नुभयो।
वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उहाँले अदालतको आदेशले सरकारलाई काम गर्ने रोक नलगाएको बताउनुभयो।