Prakash Adhikari July 23, 2023

खलंगा(दार्चुला), ७ श्रावण । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ।

कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युत्गृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो।

‘आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ। शुक्रबार विद्युत्गृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो,’ न्यौपानेले भन्नुभयो।

शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभएको छ।

निर्माण कम्पनीका अनुसार आठ अर्ब लागतमा ३० महिनामै निर्माणकार्य सम्पन्न भएको हो। रासस

 

Share Now

Leave a comment.