Prakash Adhikari July 23, 2023

 

काठमाडौं, ७ श्रावण । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित हुने विद्युत प्रवाह गर्न निर्माण गरिएको लाइन सम्पन्न गर्न ताकेता गरेको हो ।

आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार (साउन ६ गते) निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरे । छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी कोरिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न सजिलो हुने बताउनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमानै खुर्कोटमा २२०र१३२ केभी र दानामा २२०र१३२र३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

दोस्रो खण्डअन्तर्गत कुस्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरूमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ ।

पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार तान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरू निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

Share Now

Leave a comment.