
काठमाडौं, ७ श्रावण । नेपाल राष्ट्र बैंकले अब ५० लाखसम्मको शेयर धितो कर्जामा कायम गर्नुपर्ने जोखिम भार अनुपात पनि घटाउने भएको छ।
आज जारी भएको चालु आर्थिक बर्षको मौद्रिक नीतिमा शेयर बजार कर्जामा पुनरावलोकन गरिने उल्लेख थियो ।
तर मौद्रिक नीतिबारे प्रकाश पार्न आज दिउँसो गरिएको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले यसलाई प्रष्ट पार्दै भन्नुभयो, अब ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरे पुग्नेछ।‘बाँकी थ्रेसहोल्डमा होइन। ५० लाख माथिको कर्जामा होइन, नझुक्किनुहोला। आउनेवाला सर्कुलरले यसबारे स्पष्ट पार्नेछ । ’
राष्ट्र बैंकले यसअघि २५ लाख भन्दा कम सेयर धितो कर्जा लिँदा जोखिम भारको अनुपात १०० प्रतिशतमा झारिसकेको थियो। तर त्यसमाथिको सीमाको हकमा भने सेयर धितो कर्जा दिए बापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाहरु स्वयंको लागत बढेकाले पछिल्लो समय सेयर धितो कर्जा निरुत्साहित हुँदै थियो।
जसलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले पुनरावलोकन गर्ने जनाएको हो। सोही अन्तर्गत अब ५० लाखसम्मको सेयर धितो कर्जा लिँदा बैंकहरुको लागत सस्तिने भएको छ। यस्तो कर्जा दिन पनि उनीहरुलाई प्रोत्साहन मिल्नेछ।
५० लाखभन्दा माथिको कर्जामा भने विद्यमान व्यवस्था नै लागू गरिएको छ। यस्तै, समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको सेयर धितो कर्जा पाउने व्यवस्था पनि यथावतै छ।