Prakash Adhikari July 23, 2023

काठमाडौं, ७ श्रावण । मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार नेपालको शेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ अंकले बढेर २२२७.१६ बिन्दुमामा आएको छ ।

मौद्रिक नीति सार्वजनिक भएको आइतबारको दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूह बढेका छन् । त्यसमध्ये पनि वाणिज्य बैंक र विकास बैंक समूहहरु अझ बढी चम्किएका छन् । समग्र नेप्से सूचकमै २.९२ प्रतिशतको वृद्धि भएको छ । मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ ।

शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरु शेयर कर्जा प्रवाह गर्न उत्साहित हुनेछन् । जोखिमभार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुने अवस्था सिर्जना हुन्छ । हाल जोखिमभार बढी भएकै कारण यी क्षेत्रमा कर्जा प्रवाह खासै हुन सकेको छैन ।

अपरान्ह याक एण्ड यती होटलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शतप्रतिशत जोखिम भारमा ५० लाख रुपैयासम्म कर्जा लिन सकिने र त्यसमाथिको हकमा पूर्ववत १५० जोखिम भार कायम राख्ने सहमति भएको जानकारी दिनुभएको थियो ।

आइतबार २ सय ६६ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । यस दिन सबै उपसमूहको परिसूचकहरु सकारात्मक भएका छन् ।

यस दिन १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् ।

यस दिन सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर १० प्रतिशले बढेको हो। त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ ।

Share Now

Leave a comment.