Prakash Adhikari July 25, 2023

सानेपा(ललितपुर), ८ श्रावण । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा देखिएको भ्रष्टाचार निर्मूल गर्न नेपाली कांग्रेस केन्द्रदेखि स्थानीय तहका वडासम्म निर्मम भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको चालु केन्द्रीय समितिको बैठकमा आफूले प्रस्तुत गरेको प्रतिवेदनमा उठेका प्रश्नहरुका जवाफ दिंदै उहाँले सो कुरा बताउनुभएको हो ।

‘कांग्रेसमा सरकार चलाउने मात्रै होइन ठूलो जिम्मेवारी पनि छ। हामीलाई नतिजा चाहिएको छ। हाम्रो पार्टीबाट नि र्वाचित २ हजार ६ सय ६८ वडाअध्यक्ष र १० हजार वडासदस्य छन्’, उनले भने, ‘अब कांग्रेस भ्रष्टाचारविरुद्ध निर्मम हुनुपर्छ। सुशासनका लागि कांग्रेस प्रतिवद्ध हुनुपर्छ।’,महामन्त्री थापाले भन्नुभयो ।

उहााले गठबन्धनका नाममा पार्टीले आफ्नो स्वार्थमा सम्झौता गर्न नहुने पनि उल्लेख गर्नुभयो ।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा महामन्त्री थापाले अहिलेको सत्तारुढ गठबन्धनको नेता कांग्रेस नै भएको बताएका छन्। ‘यो गठबन्धनको नेता कांग्रेस हो। प्रधानमन्त्री आउने जाने क्रम चल्छ, चलिरहन्छ तर गठबन्धनको नेता कांग्रेस हो’, उहााले भन्नुभयो, ‘गठबन्धन दलभित्र रहेका कुनै अमुक दलको माग पूरा गर्ने नाममा आफ्नो स्वार्थमा सम्झौता गर्नु हुँदैन। विगतमा कांग्रेसले केही कुरामा सम्झौता गरेको छ। त्यस्तो कुरामा कांग्रेसले मान्दैन भन्न सक्नुपर्छ।’

थापाले प्रदेशमा सरकार ढले स्वीकार्नुपर्ने तर मन्त्रालयहरु बढाउने कुरामा सम्झौता गर्नु गलत हुने पनि बताउनुभयो ।

 

संसदीय दलको नेता बन्ने प्रयास जारी रहने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने आफ्नो प्रयास जारी नै रहने बताउनुभएको छ।

केन्द्रीय कमिटी बैठकमा बोल्दै थापाले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने र आफू त्यसका लागि लागिपर्ने बताउनुभयो ।

उहाँले पहिलो प्रयास असफल भए पनि आफूले दोस्रो प्रयास गर्ने प्रस्ट पार्नुभयो । ‘पहिलो प्रयासमा सफल भइनँ। मैले फेरि अर्को प्रयास गर्नै मिल्दैन ?’ उहँले प्रश्न गर्नुभयो, ‘अवश्य मिल्छ। पार्टीको विधानले, संसदको नियमले मिल्छ।’

उहाँले आफू कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने बताउनुभयो।

खाँणलाई निलम्बन गर्नुपर्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका कुनै पनि तहका नेता कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गर्न पनि माग गर्नुभयो।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो लिखित माग दर्ज गर्दै थापाले संसदबाट जस्तै पार्टीबाट पनि निलम्बन गर्नुपर्ने बताउनुभएको हो।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं,’ थापाले भन्नुभएको छ, ‘जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ। यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो।’

सोमबारको बैठकको अन्तिममा आफ्नो १३ बुँदे माग बुझाउँदै उहाँले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पार्टीको पदीय भूमिकाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ।

यदि उक्त व्यक्तिले पार्टीबाट आफूलाई अलग नराखे वा राजीनामा नदिएमा मुद्दाको न्यायिक निरुपण नहुँदासम्म सार्वजनिक पद वा पार्टीको संलग्नता वा जिम्मेवारीबाट अलग राख्नुपर्नेमा थापाले जोड दिनुभएको छ।

 

Share Now

Leave a comment.