Prakash Adhikari July 25, 2023

सानेपा(ललितपुर), ८ श्रावण । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपसभापति खड्काले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताउनुभयो।

‘नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ, न कांग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि बढ्छ। यो कुरामा काँग्रेस स्पष्ट हुन जरुरी छ। म गर्न हुँदैन भन्दिन, हामी आफ्ना एजेण्डा बोकेर गठबन्धनमा छौं,’ उपसभापति खड्काले भन्नुभयो, ‘गठबन्धनको सीमा पनि बुझेका छौँ, यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ। र हामीले यो गठबन्धनलाई ५ वर्ष लिएर जानुछ।’

उहाँले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पार्नुभयो। उहााले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताउनुभयो।

‘त्यो ५ वर्ष लिएर जाँदा नेताहरुले, साथीहरुले भन्नुभएको जस्तै सरकारले जनतालाई दिनुपर्ने प्रतिफल सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा हामी सरकारमा जाने प्रत्येक मन्त्रीहरू, व्यक्तिगत रुपमा र सामुहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार, एजेण्डाप्रति इमान्दार हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताउनुभयो। उआँले समाजवादी मोर्चा काँग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताउनुभयो।

कांग्रेस केन्द्रीय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी स्थगित भएको छ।

Share Now

Leave a comment.