
काठमाडौं, १५ श्रावण । नेपाली कांग्रेसले कोशी प्रदेशका सभामुख बाबुराम गौतमको राजीनामा गराएर नयाँ सरकार गठनका लागि गठबन्धनको पक्षमा बहुमत (४) देखाउन प्रस्ताव गरेको छ।
यसअघि असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्त सर्वोच्च अदालतले रद्द गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नै नयाँ सरकार गठनको दावी गर्न गर्न १६ साउनसम्मको समयरेखा दिनुभएको छ।
प्रदेश प्रमुखले दिएको निर्धारित मितिमै बहुमत देखाउन कांग्रेसले कोशी प्रदेश सभाका सभामुख गौतमको राजीनामा दिलाउने रणनीति बनाएको छ।
तर, कांग्रेसको उक्त प्रस्तावलाई माओवादी केन्द्रले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको छ। गौतम माओवादीबाटै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
असार २१ गते कांग्रेस कोशी प्रदेश संसदीय नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख गौतमले पनि हस्ताक्षर गर्नुभएको थियो।
तर, गत बुधबार सर्वोच्च अदालतको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै त्यसका आधारमा बहुमत दाबी गर्ने प्रक्रियालाई नै रद्द गरिदिएको थियो। त्यसपछि थापाको नियुक्ति पनि बदर भएको छ।
२२ दिनमै थापा नेतृत्वको सरकार अवैधानिक भएपनि गठबन्धनकै पक्षमा सरकार बनाउन र पहिलेको कदम राजनीतिक रुपमा सही सावित गर्न थापाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान कांग्रेसको छ।
तर कांग्रेसको उक्त कुरामा माओवादी मानिरहेको छैन। माओवादीले पनि अब आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने मत सार्वजनिक गरिसकेको छ।
कोशी प्रदेश माओवादी केन्द्र दलका नेता इन्द्र आङ्बोले संविधान रक्षाका लागि विगतको जस्तो गल्ती नदोहोर्याउने बताउनुभएको छ।
‘हामीले विगतमा सरकार बनाउन सभामुखको सहयोग लिएका थियौँ,’, उहाँले भन्नुभयो, ‘तर, त्यो संविधानको मर्मविपरीत भएको सर्वोच्च अदालतले ठहर गर्यो। फेरि हामी त्यो गल्ती दोहोर्याउदैनौँ।’
कोशी सरकारविहीन रहेको अवस्थामा सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौं केन्द्रित छन्। सभामुख गौतम पनि काठमाडौंमै हुनुहुन्छ। उहाँले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभएको थियो ।