Prakash Adhikari August 2, 2023

 

काठमाडौं, १६ श्रावण । नेपाल क्रिकेट संघ (क्यान)ले अगष्ट र सेप्टेम्बरमा मलेसियामा हुने आइसीसी वुमन्स विश्वकप टि २० एसिया क्षेत्र छनोट खेल्ने २४ सदस्य नेपाली महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

तीन युवा खेलाडी मनिषा चौधरी, स्नेहा महरा र पुजा महतो पहिलो पटक नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका छन् । प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुनेछ । नेपालले अनुभवी अलराउन्डर नेरी थापा, ब्याटर रोमा थापा र तीव्र गतिकी बलर सबनम राईलाई पनि प्रशिक्षणमा बोलाएको छ ।

प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

ग्लोबल महिला टि २० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोली गरि कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।

२०२४ को महिला टि २० विश्वकप बंगलादेशमा हुनेछ । बंगलादेशमा हुने विश्वकपमा गतवर्ष दक्षिण अफ्रिकामा सम्पन्न महिला टि २० विश्वकपका शीर्ष ६ टोली दक्षिण अफ्रिका, अष्टेलिया, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र वेस्टइन्डिज सोझै छनोट भएका थिए।

पाकिस्तान वरियताको आधारमा विश्वकपमा पुगेको थियो । बंगलादेश आयोजक हुँदा स्वत छनोट भएको छ । आठ टोलीले विश्वकपमा स्थान बनाई सकेका छन् ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी

रुविना क्षेत्री(बेल्बासे), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवि पोदार, खुशी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा ।

 

Share Now

Leave a comment.